ऋषि पञ्चमी, व्रत विधान र यसको पौराणिक आख्यान

By Pandit Narayan Dahal 7 Jan 2026 Rishi, Rishi Panchami

ऋषि पञ्चमी, व्रत विधान र यसको पौराणिक आख्यान

भाद्रपद शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने ऋषि पञ्चमी व्रत हिन्दु परम्परामा सप्तर्षिको वन्दना, ऋषि–ऋणको स्मरण र शौच–आचारमा सङ्कल्पित शुद्धताको प्रतिज्ञासँग जोडिएको एक महत्वपूर्ण पर्व हो । प्रायः यो हरितालिका तीज (शुक्ल तृतीया) पछि दुई दिन र गणेश चतुर्थी (शुक्ल चतुर्थी)को भोलिपल्ट पर्दर्छ । यो दैहिक र भावनात्मक शुद्धिसँग सम्बद्ध छ ।पौराणिक आख्यानअनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड होर्नु पर्‍यो। त्यस पापबाट मुक्ति पाउन त्यो ब्रहमहत्याको पापलाई चार स्थानमा विभाजित गरियो :-

(१) पृथिवी(खण्डहर भूमिमा),

(२) नदी (वर्षाकालको फिँज र मैलोयुक्त पानी),

(३) पर्वत (जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र

(४) स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा)।

अत: मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले त्यस समयमा लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त नारीहरूले लिनुपर्दछ ।

शास्त्रीय आधार :

ऋषि पञ्चमीसम्बन्धी विधान परम्परागत धर्म–निबन्ध ग्रन्थहरू—विशेषतः निर्णयसिन्धु, धर्मसिन्धु, र हेमाद्रिकृत चतुर्वर्गचिन्तामणि (व्रतखण्ड)मा सङ्ग्रहित छ। यी ग्रन्थहरूले पुराणहरूको कथावस्तु र विधिहरूको संक्षेपमा निरूपण गरी गृहस्थाचारको व्यावहारिक मार्ग दर्साएका छन्।

पौराणिक आख्यान (व्रतकथा) संक्षेप :

विशेष गरेर ब्रह्माण्ड पुराण र भविष्योत्तर पुराण लगायत लोक–परम्परामा प्रसिद्ध कथाअनुसार सत्ययुगको विदर्भनगरीका कृषक सुमित्र र उनकी धर्मपत्नी जयश्री (रजःस्वला अवधिमा आचार–विचारको त्रुटिका कारण) पशुयोनिमा पतित भए; पुनर्जन्ममा छोरा सुचित्रका घरमा कुकुरनी र बैलका रूपले बस्दै पितृ–श्राद्धको प्रसङ्गमा घटेको विष–घटना (खीरमा विष पर्नु) र मातृत्व–करुणाको भावले उत्पन्न संकटका कारण छोरोले ऋषिमार्ग सरोकारका ऋषिहरूसित उपाय सोध्यो। सप्तर्षि–पूजा सहित ऋषि पञ्चमी व्रत गरी तद्फल माता–पिता पशुयोनिबाट मुक्त भए भन्ने कथा व्यापक रूपले सुनाइन्छ ।

ऋषि–ऋणको स्मरण:

वैदिक–परम्परामा देव–ऋषि–पितृ–यी चार ऋण मानवले जन्मदै लिएर आएको छ। ऋषि पञ्चमीलाई विशेषतः सप्तर्षि–पूजा र ऋषि–तर्पणबाट ऋषि ऋण तिराइने दिवसका रूपमा लिइन्छ ।

केका लागि :

शौच–आचार र प्रायश्चित्त: गृहस्थजीवनमा अनवधानताले हुने आचार–भङ्ग (विशेषतः रजस्वला–कालका निषेधहरू) प्रति आत्मानुशासन, क्षमायाचन र शुद्धीकरणको व्रत–विधि हो। धर्म–निबन्ध ग्रन्थ–परम्पराले यस्ता व्रतलाई प्रायश्चित्तात्मक कर्मको रूपमा निरूपित गरेका छन् ।

उपवास र स्नान:

भाद्र शुक्ल पञ्चमीका दिन प्रातः मुख–शुद्धि/दन्तधावनपछि म नदी–तीर्थ/शुद्धजलमा स्नान गरिन्छ ।

सङ्कल्प (नमुना–रूप)

अद्याहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्थायां कृतसंपर्कजनितदोषपरिहारार्थमृषिपञ्चमीव्रतं करिष्ये ।

स्थापन र पूजन :

कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोथ गौतम:।

जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषय: स्मृता:।

गृह्णन्त्वर्घ्यं मया दत्तं तुष्टा भवन्तु मे सदा॥ — हेमाद्रि (व्रत, भाग १, पृ ५७१); स्मृतिकौस्तुभ (पृ २१७); व्रतराज (पृ २००)

सप्तर्षिहरूको नाम र स्थानको क्रम पूर्वादिक्रमले निर्धारित छ, जस्तै - मरीचि, वसिष्ठ, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह,क्रतु। साध्वी अरून्धतीलाई वसिष्ठका नजिकमा स्थापना गरिन्छ । सप्तर्षि–प्रतिमा/प्रतीक (वसिष्ठ, कश्यप, अत्रि, विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम) तथा अरुन्धती–सहित पूजन धूप–दीप–नैवेद्य–अर्चना आदि गरेर क्षमा याचना गरिन्छ । व्रत–फल अर्पण, अन्न–वस्त्र–तिल–दक्षिणादि दान, ब्राह्मण–सत्कारपछि आरती/प्रार्थना र व्रत–समापन।

व्रत–फल (आध्यात्मिक लाभ )

शास्त्रीय मान्यताअनुसार ऋषि पञ्चमी व्रतबाट हुने लाभ:—

(क) आचार–भङ्गका अनवधान दोष शमित,

(ख) गृहस्थ–धर्ममा शुचिता/अनुशासन स्थापन,

(ग) ऋषि–ऋण स्मरण,

(घ) कुलकल्याण र आयु/आरोग्य–वृद्धि—जस्ता पुण्य–फल प्रदान गर्छ । उक्त फल–निर्णयहरू Hemādri–आदि निबन्धकारहरूले पुराण–वचनका सार–निष्कर्षका रूपमा निर्दिष्ट गरेका छन्।

व्रतकथा र नैतिक शिक्षा

विदर्भका सुमित्र–जयश्री–सुचित्रको आख्यानको नैतिक–केन्द्रीयता तीन बुँदामा देखिन्छ—

क. मातृत्व–करुणाको आदर्श (कुकुरनी बनेकी आमाले विषालु खीर नष्ट गरी ब्रह्महत्या–दोषबाट जोगाउनु),

ख. आचार–व्रतको प्रायश्चित्तात्मक शक्ति (सप्तर्षि–पूजा र व्रत–फल समर्पण),

ग.गृहस्थ–संयम (रजः–कालमा शास्त्रीय मर्यादाको पालन)।

अन्त्यमा :

यस व्रतको मूल सार ऋषि–स्मरण, शुचिता–अनुशासन, दान–सेवा र प्रायश्चित्त हो ।

Pandit Narayan Dahal
Pandit Narayan Dahal

Pandit Narayan Dahal is a respected Hindu priest known for his deep knowledge of Vedic traditions and his sincere approach to spiritual service. With years of experience performing a wide range of Hindu rituals, pujas, and ceremonies, he is valued for conducting services with authenticity, clarity, and devotion.