चतुर्मास व्रतको आरम्भ समापन र यसको महत्त्व

By Pandit Narayan Dahal 28 Jul 2026 Chaturmas, Lord Vishnu

चतुर्मास व्रतको आरम्भ समापन र यसको महत्त्व

परिचय  

सनातन वैदिक धर्ममा समय र ऋतु अनुसार मानव जीवनलाई स्वस्थ, अनुशासित र आध्यात्मिक रूपले उन्नत बनाउन विभिन्न व्रत र पर्वहरूको व्यवस्था गरिएको  छ। तीमध्ये 'चतुर्मास व्रत' एक अत्यन्त महत्त्वपूर्ण र व्यापक अनुष्ठान हो। आषाढ शुक्ल एकादशीदेखि सुरु भएर कार्तिक शुक्ल एकादशीसम्मको चार महिना (श्रावण, भाद्रपद, आश्विन र कार्तिक) को अवधिलाई चतुर्मास भनिन्छ । यो समय केवल धार्मिक कर्मकाण्ड मात्र नभएर मानव स्वास्थ्य, प्रकृति र अध्यात्मको सुन्दर समन्वय हो। यसलाई सन्न्यासी, साधुसन्तदेखि लिएर गृहस्थ आश्रममा रहेका सबैले आ-आफ्नो नियम अनुसार पालन गर्ने गर्दछन् । चतुर्मासको महत्त्व, यसका नियम र भगवान् विष्णुको शयन-जागरण अवस्थालाई विभिन्न पुराणहरूमा सविस्तार वर्णन गरिएको छ। केही प्रमुख र शुद्ध श्लोकहरू स-सन्दर्भ तल प्रस्तुत गरिएको छ: 

१. भगवान् विष्णुको शयन र जागरण  आषाढ शुक्ल एकादशीको दिन भगवान् विष्णुलाई योगनिद्रामा शयन गराउँदा र कार्तिक शुक्ल एकादशीमा जगाउँदा यो मन्त्रको विशेष उच्चारण गरिन्छ: "सुप्ते त्वयि जगन्नाथ जगत्सुप्तं भवेदिदम्। विबुद्धे त्वयि बुध्येत जगत्सर्वं चराचरम् ॥" (सन्दर्भ: पद्म पुराण, उत्तरखण्ड)

अर्थ: हे जगन्नाथ! हजुर योगनिद्रामा सुत्दा यो सम्पूर्ण जगत् सुप्त (निष्क्रिय) अवस्थामा रहन्छ र हजुर जाग्दा यो सम्पूर्ण चराचर जगत् पुनः जाग्दछ । अर्थात् सृष्टिको सम्पूर्ण ऊर्जा हजुरकै अधीनमा छ ।

२. चतुर्मास व्रतको अनिवार्यता  चतुर्मासमा केही न केही नियम पालना गर्नैपर्छ भन्दै शास्त्रले कडा निर्देशन दिएको छ: "वार्षिकांश्चतुरो मासान् यापयेत् केनचिन् नरः। नियमेन विना यस्तु जीवन्नपि मृतो हि सः॥"  (सन्दर्भ: स्कन्द पुराण, वैष्णव खण्ड, चातुर्मास्य माहात्म्य) अर्थ: जुन मनुष्यले वर्षा ऋतुका यी चार महिना कुनै पनि व्रत, जप वा सात्त्विक नियमको पालना नगरी (अर्थात् मनपरी खाएर र बसेर) व्यतीत गर्छ, त्यो मानिस जिउँदो भए पनि मृतक समान हुन्छ ।

३. चतुर्मासमा वर्जित खानपान- आयुर्वेद र धर्मशास्त्रले यी चार महिनामा कुन-कुन महिना के-के खानु हुँदैन भनेर स्पष्ट तोकेको छ:"श्रावणे वर्जयेच्छाकं दधि भाद्रपदे तथा। दुग्धं चाश्वयुजि मासि कार्तिके द्विदलं त्यजेत्॥" (सन्दर्भ: धर्मसिन्धु र स्कन्द पुराण) अर्थ: श्रावण महिनामा हरियो सागपात, भाद्र महिनामा दही, आश्विन महिनामा दूध र कार्तिक महिनामा द्विदलन (दुई फ्याक हुने गेडागुडी जस्तै: मुसुरो, मास आदि) खानु हुँदैन।

व्रतको आरम्भ र समापन 

आरम्भ (देवशयनी / हरिशयनी एकादशी): आषाढ शुक्ल एकादशीको दिनदेखि चतुर्मास सुरु हुन्छ । पौराणिक कथानुसार, भगवान् विष्णुले वामन अवतार लिएर दैत्यराज बलिको सम्पूर्ण राज्य तीन पाइलामै नापेर लिइसकेपछि, बलिको भक्तिबाट प्रसन्न भई उनलाई पाताल लोकको राजा बनाउनुभयो। साथै राजा बलिको प्रार्थना स्वीकार गर्दै भगवान् विष्णुले वर्षको चार महिना (आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म) पाताल लोकमा राजा बलिको ढोकामा पाले भएर बस्ने र क्षीरसागरमा शेषनागको शय्यामा योगनिद्रामा रहने वरदान दिनुभयो । यसै दिनदेखि सृष्टिको सञ्चालनको जिम्मा भगवान् शिवको हातमा आउँछ भन्ने मान्यता छ, त्यसैले श्रावण महिनामा शिवजीको विशेष पूजा गरिन्छ । यसै दिन घरमा तुलसीको मठमा विधिवत् तुलसीको बिरुवा रोपिन्छ ।

समापन (देवोत्थानी / हरिबोधिनी / प्रबोधिनी एकादशी) : 

कार्तिक शुक्ल एकादशीको दिन भगवान् विष्णु चार महिनाको योगनिद्राबाट जाग्नुहुन्छ । यो दिन चतुर्मास व्रतको विधिवत् समापन वा उद्यापन गरिन्छ । यसै दिन आषाढमा रोपेको तुलसीको विवाह शालिग्राम (दामोदर) सँग गराइन्छ, जसलाई 'तुलसी विवाह' भनिन्छ । देवताहरू जागा भएको यो दिनबाट मात्र हिन्दू समाजमा रोकिएका सम्पूर्ण सकाम र माङ्गलिक कार्यहरू (जस्तै: विवाह, व्रतबन्ध, गृहप्रवेश, मुण्डन आदि) सुचारु हुन्छन् ।

चतुर्मास व्रतको बहुआयामिक महत्त्व 

• चतुर्मासको महत्त्व केवल धार्मिक कर्मकाण्डमा सीमित छैन। यसले मानिसको शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र सामाजिक अनुशासनमा गहिरो प्रभाव पार्दछ:

• वैज्ञानिक तथा आयुर्वेदिक महत्त्व: चतुर्मासको समय भनेको वर्षा ऋतु र त्यसपछिको शरद ऋतुको सङ्क्रमणकाल हो । वर्षायाममा सूर्यको प्रकाश कम हुने हुँदा मानिसको शरीरमा 'जठराग्नि' (पाचन शक्ति) अत्यन्त कमजोर हुन्छ । जताततै पानी जम्ने भएकाले वातावरणमा कीटाणु र ब्याक्टेरियाको सङ्क्रमण उच्च हुन्छ । यस्तो बेलामा माछामासु, लसुन, प्याज वा गरिष्ठ (पचाउन गाह्रो हुने) भोजन गर्दा गम्भीर रोग लाग्ने सम्भावना हुन्छ । माथि उल्लेख गरिएको श्लोक (श्रावणे वर्जयेच्छाकं...) अनुसार श्रावणमा कीरा लाग्ने हुनाले साग नखाने, भाद्रमा चिसो लाग्ने हुनाले दही नखाने नियम बनाइएको हो । यो पूर्णतः भोजनविज्ञानसम्मत छ ।

• आध्यात्मिक तथा मनोवैज्ञानिक महत्त्व: मनुष्यको मन स्वभावैले चञ्चल हुन्छ । चतुर्मास त्यो समय हो जब साधु, सन्त र सन्न्यासीहरू एकै स्थानमा बस्छन् । वर्षाको बेला बाटोघाटो बिग्रिने र हिँड्दा भुइँका स-साना जीवजन्तु कुल्चिएर मर्ने भएकाले बाहिर यात्रा गर्न निषेध गरिएको हो । बाहिरी यात्रा रोकिँदा मानिसलाई आफ्नो 'भित्री यात्रा' (ध्यान, स्वाध्याय, जप) गर्ने प्रशस्त समय मिल्छ । भागवत गीता, रामायण र पुराणहरूको पाठ गर्न यो समय सर्वश्रेष्ठ मानिन्छ ।

• संयम र इन्द्रिय निग्रह: चतुर्मासले मानिसलाई त्याग सिकाउँछ । आफूलाई सबैभन्दा मनपर्ने कुनै एउटा खानेकुरा वा कुनै खराब बानी (जस्तै: क्रोध, निन्दा, झुट बोल्ने बानी) यी चार महिनाका लागि त्याग्ने सङ्कल्प गरिन्छ । यसले मानिसको इच्छाशक्ति बलियो बनाउँछ र इन्द्रियहरूलाई वशमा राख्न सिकाउँछ ।

• माङ्गलिक कार्य निषेधको अर्थ: विवाह वा उत्सवहरूमा मानिसको ध्यान बाहिरी तामझाम र खानपानमा बढी हुन्छ । वर्षायाममा यस्ता उत्सव गर्दा कृषि कार्यमा बाधा पुग्ने, रोगव्याधि फैलिने र आर्थिक भार पर्ने भएकाले हाम्रा ऋषिमुनिहरूले यो चार महिनालाई 'देवता सुतेको' भनी माङ्गलिक कार्यमा रोक लगाएका हुन् । यसले समाजलाई प्राकृतिक चक्रसँग मिल्न सिकाएको छ ।

निचोड

चतुर्मास परम्परा धान्ने व्रतका साथै वर्षायामको प्रतिकूल मौसममा मानिसलाई शारीरिक रूपमा निरोगी मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा जागृत गराउन महर्षिहरूले प्रतिपादन गरेको एक उत्कृष्ट 'जीवन-पद्धति' हो । 


Pandit Narayan Dahal
Pandit Narayan Dahal

Pandit Narayan Dahal is a respected Hindu priest known for his deep knowledge of Vedic traditions and his sincere approach to spiritual service. With years of experience performing a wide range of Hindu rituals, pujas, and ceremonies, he is valued for conducting services with authenticity, clarity, and devotion.